Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग)

इलाका प्रशासन कार्यालय,चौरजहारी,रुकुम(पश्चिम भाग)

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग)

इलाका प्रशासन कार्यालय,चौरजहारी,रुकुम(पश्चिम भाग)

न्यून व्यान्डविथ Invert Color A- A A+

धेरै सोधिएका प्रश्नहरु

7 महिना अगाडी

2082-05-27


१.नागरिकता भनेको के हो ?

राज्यसँग नागरिकको कानूनी सम्बन्ध स्थापीत गरी अधिकारको रक्षा गर्ने दस्तावेज नागरिकता हो। यो राज्य र नागरिकबिचको सम्बन्ध सेतुको रुपमा रहेको हुन्छ। नागरिकता राजनीतिक समुदायको सदस्यता हो। नागरिक वैयक्तिक पहिचान हो भने नागरिकता राज्य र व्यक्तिको सम्बन्ध सूचकको अवस्था हो।

२.हाल नेपालमा कुन कुन प्रकारको नागरिकता वितरण गरिन्छ ?

 

नेपालको संविधान र नेपाल नागरिकता ऐन, २०६३ बमोजिम नेपालमा हाल देहाय बमोजिमका नेपाली नागरिकताको प्रमाणपत्रहरू वितरण गर्ने व्यवस्था रहेको छः

  • वंशजको आधारमा नेपाली नागरिकता
  • अंगीकृत नेपाली नागरिकता (वैवाहिक अंगीकृत नेपाली नागरिकता सहित)
  • गैर आवासीय नेपाली नागरिकता
  • सम्मानार्थ नेपाली नागरिकता
३.नागरिकता सम्बन्धी मौजुदा कानूनहरु के के छन् ?
नागरिकता सम्बन्धी मौजुदा कानूनहरू देहाय बमोजिम रहेका छन्ः
  • नेपालको संविधान
  • नेपाल नागरिकता ऐन, २०६३
  • नेपाल नागरिकता नियमावली, २०६३
  • नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३
  • यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई लिङ्गको महलमा “अन्य” जनाई नागरिकता जारी गर्ने सम्बन्धी निर्देशिका, २०६९
  • नागरिकता प्रमाणपत्र वितरण टोलीको कार्यसञ्चालन निर्देशिका, २०७०
  • नागरिकता प्रमाणपत्रको डाटा हेर्ने मात्र पहुँच दिने सम्बन्धी कार्यविधि, २०७५

 

४.कस्तो व्यक्तिले नेपाली नागरिकता पाउँछन् ?

नेपालको संविधानको भाग २ (धारा १० - धारा १५) मा नागरिकता सम्बन्धी देहाय बमोजिमको व्यवस्था रहेको छः१०. नागरिकताबाट वञ्चित नगरिनेः (१) कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन।
  (२) नेपालमा प्रादेशिक पहिचान सहिको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ।

११. नेपालको नागरिक ठहर्नेः (१) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन्।
     (२) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोवास भएको देहायको व्यक्ति वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछः
          (क) यो संविधान प्रारम्भ हुनु भन्दा अघि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति,
          (ख) कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति।
     (३) यो संविधान प्रारम्भ हुनु भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भए पछि वंशजको आधारमा नेपालको    

          नागरिकता प्राप्त गर्नेछ।
     (४) नेपाल भित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालकनिजको बाबु वाआमा फेला नपरे सम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ।
     (५) नेपालको नागरिक आमाबाट नेपालमा जन्मभई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ।
          तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून बमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ।
    (६) नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशि महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ।
    (७) यस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको 

          नागरिकता प्राप्त गरेको रहेनछ भने निजले संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने छ।


          तर नागरिकता प्राप्त गर्दाका बखत निजका आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मेको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ।
    (८) यस धारामा लेखिए देखि बाहेक नेपाल सरकारले संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्रदान गर्न सक्नेछ।
    (९) नेपाल सरकारले संघीय कानून बमोजिम नेपालको सम्मानार्थ नागरिकता प्रदान गर्न सक्नेछ।
    (१०) नेपाल भित्र गाभिने गरी कुनै क्षेत्र प्राप्त भएमा त्यस्तो क्षेत्र भित्र बसोबास भएको व्यक्ति संघीय कानूनको अधिनमा रही नेपालको नागरिक हुनेछ।

१२. वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकताः यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको 

      नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ।

१३. नागरिकताको प्राप्ति, पुनः प्राप्ति र समाप्तिः नागरिकताको प्राप्ति, पुनः प्राप्ति र समाप्ति सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ।

१४. गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिनेः विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको

      आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न

       पाउने गरी नेपालको गैर आवासीय नागरिकता प्रदान गर्न सकिने छ।

१५. नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्थाः नेपालको प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने तथा नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ।

५.कस्तो व्यक्तिले वंशजका नाताले नागरिकता प्रमाणपत्र प्राप्त गर्न सक्छ?

नेपाल नागरिकता ऐन, २०६३ को दफा ३ बमोजिम देहायका व्यक्तिले वंशजको नाताले नेपालको नागरिकता प्राप्त गर्न सक्छन्ः

(१) कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गर्ने नेपाली नागरिक महिलाबाट जन्मिएका सन्तानको हकमा दफा (५) को उपदफा (२) बमोजिम हुनेछ ।

(३) नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिनेछ ।

६.बंशजका नाताले नागरिकता प्राप्त गर्न के कस्तो कार्यविधि पूरा गर्नु पर्छ ?

 

नेपाल नागरिकता नियमावली, २०६३ को नियम ३ मा वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न देहायबमजिमको व्यवस्था गरिएको छः

(१) वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह्र बर्ष उमेर पूरा भएको नेपाली नागरिकले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष देहायका कागजात संलग्न राखी अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ ।

(क) बाबु वा आमा वा आफ्ना वंशतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र,

(ख) जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय निकायले गरिदिएको सिफारिस वा जन्मदर्ता प्रमाणपत्र,

(ग) खण्ड (क) बमोजिम तीन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित पत्र

(२) उपनियम (१) बमोजिमका प्रमाण निवेदनसाथ पेश गर्न नसक्ने नेपाली नागरिकलाई देहायका कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिन सकिनेछः

(क) निवेदकका बाबु वा आमा नेपाली नागरिक भएकोले निज वंशजको नाताले नेपालको नागरिक भएको र नेपालमा जन्म भई निरन्तर रूपमा नेपाल सरहदभित्र स्थायी रुपमा बसोबास गरी आएको व्यहोरा खुल्ने गरी स्थानीय निकायका प्रतिनिधिको रोहबरमा अनुसूची-३ बमोजिमको ढाँचामा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त स्थानीय बासिन्दाहरूले गरिदिएको स्थलगत सर्जमिन,

(ख) सम्बन्धित वडामा बसोबास गर्ने तीन जना नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिकले अनुसूची-४ बमोजिमको ढाँचामा सर्जमिनस्थल मैँ गरिदिएको सनाखत ।

    तर, नागरिकताको सिफारिस गर्ने वा नागरिकता प्रदान गर्ने अधिकारीलाई सनाखत गर्ने व्यक्तिले शंकास्पद रूपमा सनाखत गरेको लागेमा त्यस्तो अधिकारीले त्यस उपर थप छानवीन गर्न सक्नेछ ।

(३) नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगान नभएको नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह्र बर्ष उमेर पूरा भएको व्यक्तिले देहायका कागजात संलग्न राखी अनुसूची-१ बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछः

(क) नेपाल सरकारबाट स्वीकृति प्राप्त बालमन्दिर वा अनाथ बालबालिका संरक्षण गर्ने संघसंस्था वा अनाथालयको संरक्षणमा हुर्ने बढेको भए त्यस्तो संस्थाको सिफारिस,

(ख) कुनै व्यक्ति विशेषले प्रचलित कानूनबमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए पालनपोषण गर्ने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी,

(ग) खण्ड (क) बमोजिमको संस्थामा पालनपोषण गर्ने संस्थाका प्रमुखबाट गरिदिएको सनाखत वा खण्ड (ख) बमोजिम पालनपोषण गर्ने व्यक्तिले गरिदिएको सनाखत,

(४) उपनियम (३) बमोजिम निवेदकको पितृत्व वा मातृत्वको सम्बन्धमा थप कुरा बुझ्नुपर्ने भएमा आवश्यकताअनुसार स्थानीय तहको सिफारिस वा प्रहरी प्रतिवेदन माग गर्न सकिनेछ ।

(५) उपनियम (१) र (३) बमोजिम प्राप्त निवेदनउपर छानवीन गर्दा निवेदक वंशजको नाताले नागरिकताको प्रमाणपत्र पाउन योग्य देखिएमा निजलाई वंशजको नाताले नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ ।

(६) पितृत्व मातृत्वको ठेगान नभएको व्यक्तिको नागरिकताको प्रमाणपत्रको बाबुवा वा आमाको नाम उल्लेख हुनुपर्ने स्थानमा पितृत्व मातृत्वको ठेगान नभएको व्यहोरा जनाई संरक्षकको नाम, थर र ठेगाना उल्लेख गर्नुपर्नेछ ।

(७) यो नियम प्रारम्भ हुनुभन्दा अघि समयसमयमा खटिएका नागरिकता टोलीले तयार गरेको दर्ता अभिलेख र वितरण गरेको अस्थायी निस्सालाई समेत आधार लिई नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ ।

(८) उपनियम (२) बमजिम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न निवेदन दिने व्यक्तिहरूको सूची सोही दिन सार्वजनिक गर्नुपर्नेछ ।

७.नाबालक परिचय पत्र भनेको के हो र यसको अवधी कति हुन्छ ?
नेपाल नागरिकता ऐन, २०६३ मा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न १६ बर्ष उमेर पुग्नुपर्ने प्रावधान छ । १६ बर्ष उमेर पुरा नभएको व्यक्तिलाई आवश्यक परेको खण्डमा नेपाली नागरिकता सरहको प्रमाणपत्रको रुपमा नाबालक परिचयपत्र जारी गरिन्छ । स्थानीय प्रशासन ऐन, २०२८ ले नाबालक परिचयपत्र प्रदान गर्ने साधिकार प्रमुख जिल्ला अधिकारीमा रहने व्यवस्था गरेको छ ।

नाबालक परिचयपत्र प्राप्त गरेको व्यक्ति १६ बर्ष पुगेपश्चात् यो परिचयपत्र स्वतः निष्क्रिय हुन्छ ।

८. वंशजको नाताले नागरिकता बनाउदाँ आवश्यक पर्ने कागजात के के हुन ?
- सम्वन्धित वडा कार्यालयकाे अनुसूचि १ वमाेजिमकाे सिफारिस ।
- बाबु वा आमाकाे नागरिकताकाे छाँयाकपी ।
- जन्मदर्ता प्रमाण-पत्रकाे छाँयाकपी ।
- पढेका सेवाग्राहिकाे हकमा:- शैक्षिक योग्ता प्रमाण-पत्रकाे छाँयाकपी ।
- रु १० काे हुलाक टिकट ।
- दुवै कान देखिने हालसालै खिचिकाे (२.५*३)cm साइजकाे फाेटाे २ वटा ।
- बाबु वा आमा वाहेक अरु सनाखत गर्न आएमा सम्वन्धित व्यक्तिकाे नागरिकताको छाँयाकपी । तर अरु सनाखत गर्न अाउदा नागरिकता वनाउन अाउने व्यक्ति सँग नाता खुल्ने कागज अनिवार्य हुनु पर्दछ । 

९. प्रतिलिपि नागरिकता बनाउदाँ आवश्यक पर्ने कागजात के के हुन ?
- सम्वन्धित वडा कार्यालयकाे अनुसूचि २ वमाेजिमकाे सिफारिस ।
- उपलव्ध भए सम्म झुत्राे भएकाे नागरिकता, नागरिकता छाँयाकपी ।
- रु १३ काे हुलाक टिकट । 
- दुवै कान देखिने हालसालै खिचिकाे (२.५*३)cm साइजकाे फाेटाे २ वटा ।

१०. पतिकाे नामथर र वतन कायम गरि प्रतिलिपि नागरिकता वनाउदाँ आवश्यक पर्ने कागजात के के हुन्?
- सम्वन्धित वडा कार्यालयकाे अनुसूचि २ वमाेजिमकाे सिफारिस ।
- उपलव्ध भए सम्म झुत्राे भएकाे नागरिकता, नागरिकता छाँयाकपी ।
‍- पतिकाे नागरिकता छाँयाकपी ।
- विवाह दर्ता प्रमाण-पत्रकाे छाँयाकपी ।
- रु १३ काे हुलाक टिकट । 
- दुवै कान देखिने हालसालै खिचिकाे (२.५*३)cm साइजकाे फाेटाे २ वटा ।
- पति वाहेक अरु सनाखत गर्न आएमा सम्वन्धित व्यक्तिकाे नागरिकताको छाँयाकपी । तर अरु सनाखत गर्न अाउदा नागरिकता वनाउन अाउने व्यक्ति सँग नाता खुल्ने कागज अनिवार्य हुनु पर्दछ ।
११.नागरिकता परित्याग गर्ने कस्तो प्रक्रिया छ ?
नेपाल नागरिकता ऐन, २०६३ मा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न १६ बर्ष उमेर पुग्नुपर्ने प्रावधान छ । १६ बर्ष उमेर पुरा नभएको व्यक्तिलाई आवश्यक परेको खण्डमा नेपाली नागरिकता सरहको प्रमाणपत्रको रुपमा नाबालक परिचयपत्र जारी गरिन्छ । स्थानीय प्रशासन ऐन, २०२८ ले नाबालक परिचयपत्र प्रदान गर्ने साधिकार प्रमुख जिल्ला अधिकारीमा रहने व्यवस्था गरेको छ ।नाबालक परिचयपत्र प्राप्त गरेको व्यक्ति १६ बर्ष पुगेपश्चात् यो परिचयपत्र स्वतः निष्क्रिय हुन्छ ।
 

 

पछिल्लो अपडेट गरिएको : 2083-01-03 16:17:49

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय,चौरजहारी,रुकुम(पश्चिम भाग) .